Monday, September 12, 2011
भारतका प्रमुख चार राजनीतिक दलका वरिष्ठ नेताहरु नेपाल आउने
भारतका प्रमुख चार राजनीतिक दलका वरिष्ठ नेताहरु सम्मिलित उच्चस्तरीय प्रतिनिधि मण्डल आगामी शनिवार नेपाल आउने भएको छ। भ्रमण टोलीमा सत्तारुढ कांग्रेसका महासचिव दिग्विजय सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्युरो सदस्य सिताराम येचुरी, भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंह संलग्न रहने हिन्दुस्तान टाइम्सले जनाएको छ।
कांग्रेसका महासचिव सिंह पार्टी अध्यक्ष सोनिया गान्धी निकट मानिन्छन्। नेपालसंग सीमा जोडिएको बिहार राज्यमा सरकार चलाउंदै आएका यादव नेपाली राजनीतिमा विशेष चासो राख्छन्। मार्क्सवादीका पोलिटब्युरो सदस्य यचुरीले यसअघि पनि नेपाली राजनीतिक दल र भारत सरकारबीच सम्पर्क व्यक्तिको रुपमा भूमिका खेलेका थिए। भाजपाका पूर्व अध्यक्ष सिंह पनि नेपालको राजनीतिमा चासो राख्छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा बिग्रेको सम्बन्ध माओवादीका अर्का नेता बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनेको बेला सुधार गर्न नयां दिल्ली पनि इच्छुक देखिएको सो पत्रिकाले जनाएको छ।