Monday, August 8, 2011

म्हेपीको थुम्कोदेखि मंगल ग्रहसम्म

लुजेन्द्र ओझा- पुर्ख्यौली घर डोटी भए पनि म र दिदी सामाखुशी म्हेपीको घरमा हुर्केबढेका हौं। त्यतिबेला हाम्रो घरवरिपरि ठूलो फाँट थियो। हिउँदमा ज्यापु दाइको बारीमा धुलोमाटो खेल्दा उत्तरतिर शिवपुरीपारि हिमाल देखिन्थ्यो। फाँट डुल्दै हिँड्दा म्हेपी मन्दिर रहेको थुम्कोले हिमाल छेकिन्थ्यो। बालाजुदेखि लाजिम्पाटसम्म फैलेको फाँट बीचमा यति ठूलो थुम्को कहाँबाट आयो? म जिल्ल पर्थे। सम्म ठाउँमा यतिधेरै माटो कसले थुपारेर डाँडा बनायो? मैले ड्याडीमम्मीदेखि लैनचौरको आदर्श योगहरि स्कुलका सरमिसम्मलाई धेरैपटक यो प्रश्न सोधेँ। तर, उत्तर पाइनँ। कोही पनि थाहा छैन नभन्ने, तँलाई किन चाहियो भनेर मेरो मुख बन्द गरिदिने। उत्तर नपाए पनि जिज्ञासा मरेन। संसारको अग्लो हिमाल सगरमाथा नेपालमा पर्छ भन्ने पढेँ। घर कम्पाउन्डबाट देखिने उत्तरका हिमाल हेरेर म सगरमाथाबारे कल्पिन्थे। हिउँ कसरी बन्छ? जाडो विदामा शिवपुरीको टुप्पोसमेत हिउँले ढाकिन्छ। गर्मीमा शिवपुरीपारिको हिमालमै कालो-सेतो टाटा पर्छ। किन? चित्तबुझ्दो उत्तर नपाए पनि मेरो जान्ने चाहना थामिएन। योगहरिभन्दा राम्रो भन्दै ड्याडीमम्मीले मलाई ज्ञानेश्वरको ग्यालेक्सी स्कुलमा भर्ना गरिदिनुभयो। फी महँगो, तर पठनपाठन शैली उही। मलाई सबै विषयका किताबमा घोत्लिन मन लाग्दैनथ्यो। साइन्स र म्याथमा रमाउँथे। नेपालमा पढ्न सजिलो थिएन। सरमिसले पढाएको नबुझेर दोहोर्‍याएर सोध्यो भने उहाँहरू झर्कनुहुन्थ्यो। नजानेकै विषय सिक्न स्कुल आउने हो भन्ने हाम्रो देशका धेरै सरमिसलाई हेक्कै हुँदैन। नजानेर प्रश्न सोध्दा साथीहरू गलल्ल हाँस्थे। यो व्यक्ति विशेषभन्दा हाम्रो 'टिचिङ सिस्टम'को कमजोरी हो। भूगोल र भूगर्भबारे जान्ने मेरो जिज्ञासा असीमित थियो। खानी तथा भूगर्भ विभागमा काम गर्ने ड्याडीको पछि लागेर उहाँको अफिस जान्थे। उहाँ फिल्ड जाँदा पनि पछि लाग्न छाडिनँ। मलेखु, धानखोला, बुटवल गएको हिजोजस्तो लाग्छ। भूगोलको कखरा जान्ने बित्तिकै मेरो रुचि खगोलतिर खिचियो। स्कुलमा सौर्यमण्डलबारे पढ्न थालेपछि मेरो रुचि झन् चुलियो। औंसीमा झलमल्ल देखिने तारा, पूर्णिमाको जुन, सूर्यबारे मैले खोजिखोजी पढ्न थालेँ। स्कुलको लाइब्रेरीले मात्र मेरो भोक मेट्न सकेन। घर पायक पर्ने लैनचौरको ब्रिटिस लाइब्रेरी जान थालेँ। साइन्समा मात्र एकोहोरिएँ। अरू विषय बिगार्ने भयो, मलाई माया गर्नेमा चिन्ता हुन्थ्यो। मैले सुर छाडिनँ। लाइब्रेरी जान थालेपछि केही दिन खगोलमा रमाएँ। त्यसपछि फिजिक्सका किताबले ध्यान तान्यो। पिएचडी गरिसकेका ड्याडीले नसुनेको स्टिङ थ्योरी, मल्टी भर्स, टाइम ट्राभलजस्ता सिद्वान्तका पुस्तकमा म रमाउँथेँ। एक्काइसौं शताब्दीकै अग्रणी वैज्ञानिक स्टेफेन हकिन्सको जीवनकथा मैले ८ कक्षामै भ्याइसकेको थिएँ। उनीप्रतिको सम्मानले भौतिकशास्त्रसँग मेरो भावनात्मक साइनो गाँसियो। ... ड्याडीले एरिजोना विश्वविद्यालयमा वैज्ञानिकको काम पाउनुभयो। छ वर्षअघि सपरिवार अमेरिका आयौं। म सरकारी स्कुलमा भर्ना भए। पढाइको तौरतरिका मेरो बानीसँग ठ्याक्कै मिल्दोजुल्दो। नेपाली स्कुलजस्तो नबुझेको सोध्न लाज मान्नु नपर्ने। कुटाइ खाइएला भनेर डराउनु नपर्ने। सयपटक उत्तर दिनुपर्दा पनि टिचरहरू नझर्किने। पढाइ नै रमाइलो लाग्न थाल्यो। अरू विषयमा पनि नेपालमा जस्तो एभरेज रहिनँ। उकालो लागेँ। मैले ९, १०, ११ र १२ कक्षाको पढाइ दुई वर्षमै भ्याएँ। त्यसपछि एरिजोनामै 'प्योर साइन्स' पढ्ने विचार गरेँ। आम नेपाली अभिभावकजस्तै ड्याडीमम्मी मलाई डाक्टर वा इन्जिनियर बनाउन चाहनुहुन्थ्यो। फिजिक्स, जियोलोजी वा जुनसुकै विषय पढ्दा अनुसन्धान वा पढाउनेभन्दा विकल्प हुँदैन, दुख पाउलास् भन्नुहुन्थ्यो। 'डाक्टर भइस् भने पैसा कमाउँछस्, जिन्दगी सुखी हुन्छ,' आफन्तहरू डाक्टर वा इन्जिनियर बन्न सुर्‍याउँदै भन्थे। मैले वास्तै गरिनँ। केही नयाँ गर्नुपर्छ, घोडा चढ्ने हो, लडे लडिन्छ भन्ने मान्यता राखेँ। इच्छा लागेको काम नगरी पछुताउनुभन्दा जे परिणाम आए पनि गर्नुपर्छ भन्ने लाग्यो। आत्मविश्वास भयो भने सफल भइने रहेछ। अहिले मेरो हाइहाइ भएको छ। त्यतिबेला धेरै घोचपेच सहेँ। हन्डर ब्यहोरेँ। आफैंले रोजेको विषय भएकाले आत्मविश्वास बढी थियो। जिम्मेवारीबोधले कलेजमा घोटिएँ। कलेजले विभिन्न अनुसन्धान संस्थाबाट शोधको काम लिने रहेछ। त्यसका लागि असिस्टेन्ट मागिन्थ्यो। तीनपटक शोधको काम पाएँ। यसै सिलसिलामा नेपालको सरकारी निकायले सहयोग गर्नुको साटो खिसीट्युरी गरेको नमीठो काँडा मनमा बिझेको छ। दुई वर्षअघिको कुरा। कलेजले खोलेको 'भ्याकेन्सी'बाट एउटा शोधकार्यमा सरिक हुने मौका पाएँ। एनएसएफ (नेसनल साइन्स फाउन्डेसन)ले एरिजोना विश्वविद्यालयलाई भूकम्पसम्बन्धी अनुसन्धानको काम दिएको रहेछ। मैले नेपालसम्बन्धी प्रस्ताव हालेँ। बिएस्सीको जुनियर विद्यार्थी हुँदै म छानिएँ। जापान, इन्डोनेसियाजस्तै नेपालमा पनि भूकम्प आउनु पहिल्यै कसरी लक्षण थाहा पाउने भन्ने शोधको विषय थियो। नेपालका नाममा काम गर्न पाइयो भनी उत्साही भएँ। विभिन्न डिजिटल तथ्यांकलाई शोधको आधार बनाउनुपर्थ्यो। अमेरिकाका विभिन्न विश्वविद्यालयमा उपलब्ध तथ्यांक बटुलेँ। मलाई आवश्यक सय मान्ने हो भने त्यो सातजति मात्र भयो। नेपाल सरकारले फ्रान्सका विज्ञहरूसँग मिलेर मलाई काम लाग्ने प्रकारको तथ्यांक संकलनको काम गरेको रहेछ। ढुंगा खोज्दा देउता मिलेजस्तो भयो। फ्रान्सका विज्ञहरूसँग सम्पर्क गरेँ। उनीहरूले नेपाल सरकारलाई बुझाइसकेको जवाफ दिए। अबचाहिँ अनुसन्धानको खजाना मिल्यो भनेर झन् दंग परे। खानी तथा भूगर्भ विभागसँग मिलेर काम भएको रहेछ। ड्याडीले जुग बिताएको अफिसमा सजिलो हुने भयो भन्ठानेँ। सम्पर्क गरेँ। कसैले जिम्मेवार जवाफ दिएन। एउटाले अर्कोलाई देखाउने काम मात्र भयो। अन्तिममा विज्ञान तथा प्रविधि मन्त्रालयबाट लिनू भने। मैले त्यहाँ पनि सम्पर्क गरेँ। पचासौंपटक पत्राचार गरेँ। सहयोग गर्नुको साटो उल्टै दिक्क लगाए। 'डाटा भनेर के मरिमेटेको,' ती निकायका हाकिमको जवाफ आयो, 'किचकिच नगर बाबु, टाकटुक गरेर रिसर्च बुझाइदेऊ न।' परदेशबाटै देशका लागि केही गर्न पाएँ भनेर दंग परेको म थचक्क परेँ। अधकल्चो तथ्यांकका आधारमा बनेको अनुसन्धानले चित्तै बुझेन। ... विज्ञानको खोजबिनमा सानैदेखि टक बसेको थियो। नेपालसम्बन्धी अनुसन्धानबाट धित नमरेकाले अर्को कामको खोजीमा लागेँ। कलेजले काम लिएको नासाको एउटा प्रोजेक्टमा शोधकर्ता छानिएँ। डेढ वर्षअघिको त्यो दिन अहिलेको सफलताको पहिलो खुट्किलो हो। नासाको एमआरवो स्याटेलाइटमा जडिएको हाइराइज क्यामेराले मंगल ग्रहमा खिचेको तस्बिर विश्लेषण गरेर रेकर्ड राख्नु मेरो दिनचर्या बन्यो। संसारकै 'पावरफुल' हाइराइज क्यामेराको तस्बिरसँग खेल्न पाउँदा सुरुसुरुमा मज्जा आयो। काममा नयाँपन र चुनौती नआएकाले अल्छी लाग्दै गयो। तर यसपालाको अनुभव खेर गएन। एक वर्षअघि नासाले कलेजलाई दिएको अर्को काममा आवद्व भएँ। अर्कै स्याटेलाइटले खिचेर पठाएको तस्बिरको अध्ययन मेरो काम थियो। यसपटक एकै स्थानको फोटो फरकफरक कोणबाट खिचिएको थियो। नांगो आँखाका भरमा यी तस्बिरबाट केही पत्ता लाग्ला जस्तो लागेन। तैपनि निच मारिनँ। झल्याँस्स कहिलेकाहिँ हेर्ने थ्रीडी फिल्मको झल्को आयो। कम्प्युटरमा त्यस्तै प्रविधि जडेर फोटोको सुक्ष्म अध्ययन गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। यो मौलिक अक्कलबारे गाइडलाई भनेँ। उनले स्वीकृति जनाए। त्यसपछि लगातार छ महिना अनुगमन गरेँ। ग्रहको दक्षिणी अक्षांसमा कालो धब्बा थियो। याम फेरिँदा पनि त्यो जस्ताको तस्तै रहिरह्यो। त्यो पानी हुनसक्छ भन्ने लाग्यो। त्यो ठाउँको फोटो अझ नजिकबाट लिइयो। हाम्रो अनुमान झन् बलियो भयो। त्यसपछि गाइड र अरू साथीले पानीको सम्भावना पत्ता लगाएको जस मलाई दिए। तर मेरो विचारमा अनुसन्धान कसैले एक्लै गर्न सक्दैन। यो सतप्रतिशत 'टिमवर्क' हो। यति थाहा भैसक्दा पनि धेरै आफन्त र नातेदारलाई मंगलग्रहको पानी पत्ता लागेकोबारे बताइनँ। त्यो खबर सुनाउँदा धेरैले दिने जवाफको अनुमान मलाई थियो, 'काठमाडौंमा पानीको हाहाकार छ, सक्छस् भने उहीँ पत्ता लगाइदे, मंगल ग्रहमा पानी भएर के हुन्छ, नभएर के।' हाम्रो अध्ययन अवधिमा मंगल ग्रहको तापक्रम शून्यदेखि २० डिग्री सेल्सियस छ। त्यत्ति चिसो वातावरणमा पनि पानी जमेको देखिएन। त्यसको कारण एउटै हुनसक्छ- नुनिलो पानी। शुद्ध पानी शून्य डिग्रीमा जम्छ। नुनको मात्रा बढ्दै गयो भने पानी माइनस २० डिग्रीमा पनि बरफ बन्दैन। हाम्रो खोजलाई मान्यता दिएर साइन्स जर्नलले छ महिनाअघि लेख प्रकाशित गर्‍यो। त्यसमा प्रमुख अनुसन्धाताको पहिलो र दोस्रो लेखकमा मेरै नाम छ। हामीले नयाँ तथ्य पत्ता लगाएको थाहा पाएर वासिंगटन डिसीस्थित क्यापिटोल हिलमा प्रस्तुति गर्ने मौकासमेत पायौँ। अप्रिलमा भएको उक्त प्रस्तुतिले हाम्रो कामको प्रशंसा भयो। बिहीबार नासाले पत्रकार सम्मेलन गरी घोषणा गरेपछि भन्ने ख्याति नै कमाइयो। अहिले डाक्टर, इन्जिनियर नबनेकामा दुखी बनेर मेरो भविष्यको चिन्ता लिने नातागोतालाई खुसी देखेर म हौसिएको छु। ... म अब मंगल ग्रहलाई पछ्याइरहने छु। साइन्स जर्नलले अनुसन्धान गरेर एउटा लेख लेख्ने जिम्मा दिएको छ। सायद छ महिनामा त्यो तयार हुन्छ। त्यो लेख म एक्लै लेख्नेछु। त्योभन्दा पछिल्लो योजनाबारे मलाई थाहा छैन। अब छ महिनामा ग्र्याजुएसन सकिन्छ। एकपटक नेपाल आउन मन लागेको छ। घुमफिर र भेटघाटका लागि। मैले चाहेर पनि नेपालमा फिजिक्सको अनुसन्धान गर्न सकिन्न, त्यसैले नेपाल बस्न पाइन्नजस्तो छ। भाइरसदेखि डाइनोसरसम्मका जीवको विकासमा पानी आवश्यक हुन्छ। मंगल ग्रहमा पानी भएको लगभग निश्चित भइसकेपछि त्यहाँ जीवजन्तुको उपस्थितिबारे अनुसन्धानका लागि आधार भएको छ। यसले अर्को ग्रहमा जीवको अस्तित्वबारे वर्षौंदेखिको खोजलाई मद्दत पुग्नेछ। मंगल ग्रहमा पानी भेटिएपछि 'आकाश सीमित छ' (स्काइ इज लिमिट) भन्ने भनाइ खन्डन भएको छ। अब आकाश साँघुरो छैन। पृथ्वीभन्दा बाहिर पनि आकाश छ। विज्ञानको विकाससँगै मंगल ग्रहमा बसोबासको सम्भावना भयो भने पृथ्वीबाट पानी ओसार्न नपर्ने भएको छ। मेरा प्रमुख अनुसन्धाता, साइन्स जर्नल र नासाले अनुसन्धानको महत्व दर्साउने क्रममा बसोबासको सम्भावना औंल्याएका छन्। सानै छँदा म्हेपीको थुम्कोले उब्जाएको जिज्ञासा उकालो लाग्दै अब अरू ग्रहमा तानिएको छ। मंगल ग्रहमा देखिने विभिन्न उबडखाबड, पहाड र बेँसी के होलान्? मेरो मनमा प्रश्न खेलिरहेका छन्। (किरण भण्डारीसँग एरिजोनाको टुसान सहरबाट गरिएको कुराकानीमा आधारित)

Total Pageviews