Friday, December 24, 2010

हाम्बर्गमा ल्होसारको शुभकामनासहित साँस्कृतिक कार्यक्रम सम्पन्न

योगेन्द्रमिलन छन्त्याल, हाम्बर्ग, १० पुस । ल्होसारको अवसरमा आज यहाँ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । खानपिनसहितको साँस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा करिब दुई सय नेपाली र विदेशीहरु सहभागी थिए । नेपाली भेषभुषामा सजिएका गुरुङहरुलाई आफ्नो सँस्कृतिप्रतिको मोहमा उपस्थित दर्शकहरुले तालीको गडगडाहटले प्रोत्साहन दिएका थिए । हाम्बर्ग शहरमा २२ घरधुरी गुरुङहरु रहेका छन् । नेपाली संघसंस्थाहरुले आयोजना गरेका कार्यक्रममध्ये सबैभन्दा धेरै दर्शकहरु सहभागी भएको कार्यक्रमका एक सहभागी नीलबहादुर छन्त्यालले बताउंनुभयो । कार्यक्रममा सामसुङ मोबाइल सेट, फोटो डिस्प्ले र डिजिटल क्यामेरा पुरस्कार रहेको चिठ्ठा पनि खोलिएको थियो । तोकिएको समयभन्दा निकै ढिला गरी शुरु भएको कार्यक्रममा देशभक्तिपूर्ण, प्रेमप्रीति र गुरुङ भाषाका साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरिएका थिए । फेदेलको स्लेन्चिग स्ट्रासे-११ मा सम्पन्न कार्यक्रमको अध्यक्षता आयोजक तमु सेवा समाजका अध्यक्ष लालबहादुर तमु र सञ्चालन अस्बीन तमुले गर्नुभएको थियो ।

Total Pageviews