Monday, December 20, 2010

हाम्बर्गवासीहरु कलाकारहरुसँगै नाचे

योगेन्द्रमिलन छन्त्याल, हाम्बर्ग, जर्मनी, ३ पुस । आज राति यहाँ सम्पन्न साँस्कृतिक कार्यक्रममा हाम्बर्गवासीहरु कलाकारहरुसँगै नाचे, गाए, ताली बजाए र बेस्सरी रमाए । कलाकारत्रय इन्डियन आइडल - ३ प्रशान्त तामाङ, १९७४ एडि व्याण्डका लीड भोकलिष्ट आड्रियन प्रधान र गायिका पेम्बा छोटी शेर्पाको प्रस्तुति रहेको कार्यक्रममा सयौ नेपालीहरु यसरी रमाएका हुन् । साँगीतिक प्रस्तुतिका क्रममा कहिले च्याम्बाको यादमा भावुक भएर ढल्कदै नाचेको देखिन्थ्यो त कहिले यो मन त नेपाली नै हो भनेर उफ्री उफ्री नाचेको देखिन्थ्यो दर्शकहरु । कहिले हिमालजस्ती मुहारकी वा पूर्णेको जूनजस्ती प्यारीहरुको प्यारा हुन पाएकोमा हाँसी हाँसी भन्केको देखिन्थ्यो । वातावरण यस्तो थियो कि नेपालको कुनै सदरमुकाममा महोत्सव हुँदैछ । कार्यक्रमका एक दर्शक सुनिता गुरुङका अनुसार भने कार्यक्रम व्यवस्थापनमा सुधार गर्नुपर्ने देखिन्थ्यो । गुरुङले भन्नुभयो : 'थुप्रैले नेपाली गीत गाउन अनुरोध गर्दागर्दै गायकले हिन्दी गीत गाउदा केही नमज्जा मानेको पाइयो ।' काठमाण्डौको गोकर्णमा स्थापना गर्न लागिएको अपाङ्ग पुनर्स्थापना केन्द्रको सहयोगार्थ सञ्चालित यूरो टुर २०१० अन्तर्गत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । यूरो टुर अन्तरगत युरोपका जर्मनी, नेदरल्याण्ड, स्वीजरल्याण्ड र बेल्जियमका विभिन्न शहरहरुमा कार्यक्रम सञ्चालन भैरहेका छन् । कार्यक्रमको स्थानीय आयोजक शेर्पा समाज हाम्बर्गका अध्यक्ष दावा शेर्पाले हाम्बर्गबाट अभियानलाई करिब तीन लाख रुपैयाँ सहयोग हुने बताउँनुभयो । समाजका सदस्य टाशी शेर्पाले स्वागत गर्नुभएको कार्यक्रम योगेन्द्रमिलन छन्त्याल र पासाङदेण्डी शेर्पाले युगल सञ्चालन गर्नुभएको थियो ।

Total Pageviews