Friday, November 12, 2010
प्रमुख तीन दलको गोप्य बैठकप्रति साना दल असन्तुष्ट, बैठकमा भएका सहमतिबारे जानकारी गराउनु पर्ने माग
सहमति जुटाउने नाममा प्रमुख तीन दलले एकलौटीरुपमा मुलुकलाई अगाडि बढाउन खोजेको भन्दै साना राजनीतिक दलहरुले असन्तुष्टी जनाएका छन्। उनीहरुले त्रिदलीय गोप्य बैठकमा भएका छलफल र सहमतिबारे सबै राजनीतिक दललाई जानकारी गराउनु पर्ने माग गरेका छन्। जारी गतिरोध र बजेट आउन नसकेको अवस्था बारे छलफल गर्न सिंहदरबारमा बसेको नौ साना दलको बैठकले सरकार निर्माणमा मात्र नलागी संविधान लेखन र शान्ति प्रक्रियालाई टुंग्याउने दिशामा केन्द्रीत हुन पनि प्रमुख तीन दललाई सुझाव दिएका छन्।
बजेट नआउँदा अर्थतन्त्र धरासायी हुँदै गएको निष्कर्ष निकाल्दै साना दलले कात्तिक मसान्तभित्रै नीति तथा कार्यक्रम सहितको पूर्णबजेट ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
त्यस्तै भारतीय माओवादीलाइ नेपाली माओवादीले शैन्य तालिम दिएको भन्नेबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने पनि साना दलको माग रहेको छ। उनीहरुले यदि नेपालका माओवादीले भारतीय माओवादीलाई शैन्य तालिम दिएको भए त्यो आपत्तिजनक हुने बताएका छन्।