Sunday, November 21, 2010

मुलुकमा महाविपत्तिको संकेत देखिएको अध्यक्ष दाहालको भनाइ

एकीकृत नेकपा माओवादीको वहुप्रतिक्षित छैंठौं विस्तारित बैठक गोरखाको पालुङटारमा सुरु भएको छ। बैठकको आइतबार भब्य समारोहकावीच उद्घाटन गरियो। उद्घाटन समारोहलाई सम्वोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधान लेखन प्रक्रिया अवरुद्ध गरि प्राप्त उपलब्धी खोस्ने षडयन्त्र भइरहेको वताउनुभयो। त्यस्तो षड्यन्त्रमा दलहरुनै संलग्न रहेको उहाँको आरोप छ। अध्यक्ष दाहालले विस्तारित बैठकबाट प्रतिक्रान्तिकारी शक्तिलाई पराजित गर्ने शक्ति प्राप्त हुने पनि वताउनुभयो। उहाँले मुलुकमा महाविपत्तिको संकेत देखिएको भन्दै त्यसविरुद्ध पार्टी भित्रका सवै विचार एक भएर आउने विश्वास ब्यक्त गर्नुभयो। पार्टीभित्र सामान्य मतभेद रहेपनि विस्तारित बैठक सकिंदा रुपान्तरित भएर निस्कने दाहालको दावी थियो। उद्घाटन समारोहमा महासचिव रामवहादुर थापाले बैठकको ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै प्राप्त उपलब्धीमाथि भइरहेको षडयन्त्र परास्त गर्न पार्टीभित्र एकताको आवश्यकता औंल्याउनुभयो। माओवादी सचिव सिपि गजुरेलले मुलुक विजय र पराजयको मोडमा रहेकोले वर्ग संघर्षलाई निर्णायक वनाउन विद्रोह नै गर्नुपर्नेमा जोड दिनुभयो। बर्ग संघर्षका लागि लड्ने वा हार्ने बाहेक विकल्प नरहेको उहाँको भनाइ थियो। विस्तारित बैठकको बन्द सत्र भने आज बिहान आठ बजेदेखि सुरु हुने भएको छ। बैठक सफलतापूर्वक सम्पन्न गर्न माओवादीले अनुशासन र प्राविधिक बिषय हल गर्नका लागि ५ सदस्यीय समिति पनि गठन गरेको छ। यता अध्यक्ष दाहाल एवं उपाध्यक्षद्वय वैद्य र भट्टराईका तीनवटै प्रतिवेदनलाई एउटै बनाउने स्थायी र केन्द्रीय समितिको प्रयास विफल भएपछि विस्तारित बैठकमा तीनवटै प्रस्ताव पेश हुने भएका छन्। अन्य दलहरुको विरोधका बावजुद माओवादीले विस्तारित बैठकमा एघार सय लडाकूलाई राज्य समितिको प्रतिनिधिका रुपमा सहभागी गराउने निर्णय पनि गरेको छ। विस्तारित बैठकलाई तीन चरणमा विभाजन गरी छलफल गर्ने निर्णय गरिएको पनि माओवादीले जनाएको छ।

Total Pageviews