Wednesday, October 6, 2010

राजनीतिक मामिलासम्बन्धि राष्ट्रसंघीय उपमहासचिव बी लिन पास्को काठमाडौंमा, शान्ति प्रक्रियामा भइरहेको प्रगतिको समीक्षा गर्ने

नेपालको जारी शान्ति प्रक्रियामा भएका प्रगतिका बारेमा जानकारी लिन संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला सम्बन्धि उपमहासचिव बी लिन पास्को नेपालको दुई दिने भ्रमणका क्रममा आज काठमाडौं आइपुग्नु भएको छ। पास्कोले प्रधानमन्त्री माधवकुमार नेपाल सहित सरकारका उच्च अधिकारी, प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा नागरिक समाज र शान्ति प्रक्रियासँग सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पास्कोले अनमिनको म्याद आगामी जनवरी पन्ध्रसम्म मात्रै रहेकाले त्यसबीचमा पूरा हुनु पर्ने शान्ति प्रक्रियाका कामसम्बन्धी जानकारी लिन आफू काठमाडौं आएको जानकारी दिनुभयो। उहाँले शान्ति प्रक्रियाका धेरै काम बाँकी रहेको पनि बताउनुभयो। पास्कोले आजैदेखि आफ्नो राजनीतिक भेटवार्ता सुरु गर्नु हुने छ। राष्ट्रसंघीय सुरक्षा परिषदको आगामी साता हुने बैठकमा महासचिव वान कि मुनले नेपालबारे प्रतिबेदन पेश गर्दै हुनुहुन्छ। त्यसैका लागि हालसम्मको प्रगति र अबरोधका विषयमा जानकारी लिन पास्को नेपाल आउनु भएको हो। सरकार र एकीकृत नेकपा माओवादीबीचको चार बँुदे सहमतिपछि सुरक्षा परिषदले गत अक्टोबर १५ मा अनमिनको म्याद पुरानै कार्यादेशमा चार महिना थप गरेको थियो।।

Total Pageviews