Monday, October 11, 2010
एसीसी अण्डर नाइन्टिन महिला क्रिकेटको उपाधि नेपाललाई
नेपाल एसीसी अण्डर नाइन्टिन महिला क्रिकेट च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। फाइनल खेलमा भुटानलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो। पहिले व्याटिङ गरेको भुटानले बीस ओभरको खेलमा ६ विकेट गुमाउँदै त्रिपन्न रन बनाएको थियो। भुटानलाई त्रिपन्न रनमा रोक्न रुविना क्षेत्रीले दुई, नेरी थापा र श्रद्धा अर्यालले एक एक विकेट लिँदा दुई खेलाडी रन आउट भएका थिए। जवाफमा चौवन्न रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले सत्र दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। खराव सुरुवात गरेको नेपालले पाँच ओभरमा तीन विकेट गुमाएपनि सरिता मगरले सर्वाधिक २३ रन बनाएकी थिइन्। सरिता नै फाइनल खेलको प्लेयर अफ दि म्याच बन्न सफल भएकी छिन्। अपराजित रहँदै उपाधि जितेको नेपालको यो लगातार दोस्रो उपाधि हो। यसअघि सन् दुई हजार आठमा थाइल्याण्डमा सम्पन्न अण्डर नाइन्टिन च्याम्पियनसको उपाधि पनि नेपालले जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टिमले जितेको यो दोस्रो उपाधि पनि हो।