Thursday, October 14, 2010
नक्कली अध्यापन अनुमति पत्रको आधारमा जागीर
जिल्ला शिक्षा कार्यालयको मिलोमतोमा नक्कली अध्यापन अनुमति पत्र लिएर सप्तरी र सिरहाका धेरै शिक्षकहरुले जागिर खाएको तथ्य खुल्न आएको छ । केहि व्यक्तिले शिक्षा कार्यालय कै कर्मचारीबाट नक्कली अध्यापन अनुमति पत्र प्राप्त गरी राहत तथा पिसिएफ दरबन्दीमा शिक्षकमा नियुक्ति लिएको शिक्षा कार्यालय र स्थानीय प्रशासनमा उजुरी परेपछि सो रहस्य बाहिर आएको छ । सप्तरी र सिरहामा नक्कली अध्यापन अनुमति पत्रका अधारमा जागिर खुवाउने काममा संगठित गिरोह नै सक्रिय रहेको र त्यसका लागि जिल्ला शिक्षा कार्यालयका कर्मचारीको समेत मिलोमतो रहेको बताइएको छ ।
‘नक्कली अध्यापन अनुमतिपत्र बनाएर जागिर खानेमा विद्यालय व्यवस्थापन समिति, शिक्षा कार्यालयका कर्मचारी र राजनीतिकर्मी निकटका व्यक्तिहरु बढि छन्,’ जिल्ला शिक्षा कार्यालय सिराहाका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, नक्कली अनुमति पत्र दिलाइदिने गिरोह नै सकृय छ ।’
स्रोतकाअनुसार नक्कली प्रमाणपत्र बनाउने कर्मचारीले प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म लिने गर्छन् । सोहीपत्रका आधारमा नियुक्ति दिएबापत व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले एक लाखसम्म घुस लिने गरेको शिक्षा कार्यालय र स्थानीय प्रशासनमा दर्ता गरिएको उजुरीमा उल्लेख छ । शिक्षा ऐन सातौं संशोधनले शिक्षा पेशामा लाग्नेले अध्यापन अनुमति पत्र अनिवार्य गरेको थियो ।