Saturday, October 16, 2010

महानवमीको अवसरमा पूर्वाञ्चलका प्रसिद्ध शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुको घुईँचो

नेपालीहरुको महान चाड बडादशैँको नवौं दिन महानवमीको अवसरमा पूर्वाञ्चलका प्रसिद्ध शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुको घुईँचो लागेको छ। कालरात्रीको अन्तिम दिन महानवमीमा पूर्वाञ्चलका प्रसिद्ध शक्तिपीठको रुपमा रहेको सुनसरीको धरानस्थित दन्तकाली मन्दिरमा बिहानैदेखि भक्तजनहरुको उपस्थिति बाक्लिएको छ। पूर्वी नेपालको विभिन्न स्थानका अतिरिक्त भारतको विहारबाट समेत उल्लेख्य संख्यामा भक्तजन दन्तकाली मन्दिरमा दर्शनका लागि आएका छन्। किम्वदन्ती अनुसार परापूर्वक कालमा सतीदेवीको शव महादेवले बोकेर हिंड्ने क्रममा यो स्थानमा सतीदेवीको दन्त पतन भएको थियो। सतीदेवीको दन्त पतन भएको यो स्थानमा स्थापित मन्दिर दन्तकालीको नामबाट प्रख्यात छ। दन्तकालीमा विशेष गरी महाअष्टमी र महानवमीमा हाँस, परेवा, बोका र राँगाको बली दिने गरिन्छ। त्यसैगरी महानवमीको अवसरमा सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा भक्तजनको घुईँचो लागेको छ। धार्मिक आस्था र विश्वासका साथ कंकालिनी मन्दिरमा आउने भक्तजनहरुले आ–आफ्नो मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै विभिन्न पशुको बलि दिने परम्परा रहँदै आएको छ। यस बाहेक पूर्वाञ्चलका प्रसिद्ध शक्तिपीठको रुपमा रहेको ताप्लेजुङको पाथिभरा, सप्तरीको छिन्नमस्ता मन्दिरमा पनि महानवमीका अवसरमा भक्तजनको घुईँचो बढेको छ।

Total Pageviews