Saturday, October 9, 2010
प्रधानमन्त्रीका लागि बाह्रौं पटकको निर्वाचन आज
नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज बाह्रौं पटक निर्वाचन हुँदै छ। अपरान्ह एक बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री चयनका लागि मतदान हुने छ। आठौं पटकको निर्वाचनदेखि प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल मात्रै उम्मेदवार रहनु भएको छ। आज पनि प्रधानमन्त्री चयन हुने सम्भावना छैन। व्यवस्थापिका संसदमा बहुमत सदस्य रहेका एकीकृत नेकपा माओवादी र नेकपा एमालेले आजको मतदानमा समेत सहभागिता नजनाउने भएपछि आजको निर्वाचन पनि विगतको निरन्तरता मात्रै हुने देखिएको छ।।
तीन दल बैठक
यसैबीच, प्रमुख तीन राजनीतिक दलले दसै अगावै शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा रहेका विमती अन्त्य गर्ने सहमति गरेका छन्। राजनीतिक गतिरोधको अन्त्य तथा प्रधानमन्त्री निर्वाचन लगायतका विषयमा छलफल गर्न सिंहदबारस्थित एकीकृत नेकपा माओवादीको संसदीय दलको कार्यालयमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले दसैं भित्रै सहमतिमा पुग्ने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्रीका लागि कांग्रेसको उम्मेदवारी फिर्ता र उम्मेदवारी फिर्ताका लागि कांग्रेसले राखेका सर्तका विषयमा भने कुनै सहमति हुन सकेन।।