Monday, October 4, 2010
राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख तीन राजनीतिक दलको बैठक आज बस्ने
पछिल्लो राजनीतिक गतिरोधको अन्त्यको विषयमा आज प्रमुख तीनदलबीच छलफल हुने भएको छ। अपरान्ह दुई बजेपछि सिंहदबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक बस्ने कांग्रेसले जनाएको छ। बैठकमा प्रधानमन्त्रीका लागि कांग्रेसको उम्मेदवारी फिर्ता, उम्मेदवारी फिर्ताका लागि कांग्रेसले अगाडि सारेका शर्त तथा नयाँ सरकारको शक्ति बाँडफाँड लगायतका विषयमा छलफल हुने बताइएको छ।
व्यवस्थापिका संसदमा प्रधानमन्त्री चयनका लागि भोलि दशौं चरणको निर्वाचन हुँदै छ। दशौं चरणको निर्वाचन अगावै सहमतिको खोजि गर्ने प्रयास अनुरुप आज बैठक बस्न लागेको हो। यस अघि हिजोका लागि तय गरिएको तीन दलको बैठक माओवादी अध्यक्ष पुष्पकमल दाहालको अनुपस्थितिका कारण आजका लागि सारिएको थियो।।