Friday, October 8, 2010
११ औं चरणको प्रधानमन्त्रीय निर्वाचन पनि व्यर्थ, अर्को निर्वाचन असोज २४ गते
११ पटकको प्रधानमन्त्री निर्वाचनबाट पनि असफलता हात लागेपछि ब्यवस्थापिका संसदमा दशैंअघि अब एकपटक मात्र चुनाव हुने भएको छ । कार्यब्यवस्था परामर्श समितिको आजको बैठकले १२ औं चरणको चुनाव आगामी २४ गते र १३ औं चुनाव भने कात्तिक ९ गते गर्ने निर्णय गरेको हो । दिनहुंजसो भैरहेको निर्वाचनबाट परिणाम निस्कन नसकेपछि निरर्थक चुनावी श्रृंखलाले दशैंभरका लागि विश्राम पाएको छ । ब्यवस्थापिका संसदमा आज भएको मतदानमा पनि एक्ला उम्मेद्वार रामचन्द्र पौडेले बहुमत पाउन सक्नुभएन । पौडेललाई प्रधानमन्त्रीमा चयन गरियोस भन्ने प्रस्ताव ११ औ्र पटक असफल भएको हो । पौडेलको समर्थनमा १ सय ४ मतमात्र परेको थियो । मतदान प्रकि्रयामा सहभागि १ सय ४५ सभासदमध्ये ४० जना तटस्थ बसे । प्रधानमन्त्रीको एक्लो दौडमा कांग्रेसका उम्मेदवार पौडेल मात्रै हुनुहुन्छ । माओवादी एमाले मधेशवादी र साना दल भने आज पनि तटस्थ बसे । संसदको आजको बैठकले राष्ट्रिय सभाका तात्कालीन सांसद नरबहादुर गुरुङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । २ हजार ४६ सालको राष्ट्रिय सभामा नेपाली काँग्रेसका तर्फबाट सदस्य बन्नुभएका गुरुङको ६९ वर्षको उमेरमा गत मंगलबार निधन भएको थियो ।