Sunday, September 12, 2010
तीनवटै प्रतिवेदनलाई तल्लो तहसम्म छलफलमा लैजाने
एकीकृत नेकपा माओवादीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएका तीनवटै प्रतिवेदनलाई तल्लो तहसम्म छलफलमा लैजाने भएको छ । माओवादी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित उपाध्यक्षद्धय मोहन बैद्य र डाक्टर बाबुराम भट्टराईको प्रतिवेदनलाई छलफलका लागि तल्लो तहको संगठनसम्म लैजाने निर्णय गरेको हो । बैठकपछि माओवादी प्रवक्ता दीनानाथ शर्माले राज्य समिति र जिल्ला समितिसम्म प्रतिवेदनहरु छलफलका लागि लैजाने जानकारी दिनुभयो । तर आगामी कार्तिक ६ गतेबाट सुरु हुने विस्तारीत बैठकमा भने अध्यक्ष प्रचण्डले तीनवटै प्रतिवेदनलाई मिलाएर एउटै प्रतिवेदन प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो । यसैबीच माओवादी केन्द्रीय समिति बैठकले प्रधानमन्त्री निर्वाचनबारे निर्णय गर्ने अधिकार स्थायी समितिलाई दिएको छ । बैठकले शान्ति संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्ने निर्णय पनि गरेको बैठकपछि प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले पार्टी भित्र र बाहिर जनवाद सुनिश्चित भएमात्र मुलुकले निकास पाउने निष्कर्ष निकालेको छ । गत भदौ ८ गतेबाट सुरु भएको माओवादी केन्द्रीय समिति बैठक केन्द्रीय सदस्यका जिज्ञासामा अध्यक्षले जवाफ दिएपछि आज सकिएको हो ।