Monday, September 6, 2010
भारतीय माओवादीको कब्जामा रहेका तीन जना प्रहरी आठ दिनपछि मुक्त
भारतीय माओवादीको कब्जामा रहेका तीन जना प्रहरी आज बिहान मुक्त भएका छन्। बिहार प्रहरीका प्रवक्क्ता पी. के.ठाकुरले माओवादी कब्जामा रहेका तीनै जना प्रहरी मुक्त भएको पुष्टि गरेका छन्। भारतीय माओवादीले घोषणा गरे अनुरुप बन्धक बनाइएका प्रहरीलाई उनीहरुले हिजो बिहान नै मुक्त गर्नुपर्ने थियो। आठ दिन अघि बिहारको लखिसराय जिल्लामा भएको प्रहरीसँगको भिडन्तका क्रममा माओवादी कार्यकर्ताले ४ जना प्रहरीलाई नियन्त्रणमा लिई बन्धक बनाएका थिए।
सो भिडन्तमा ७ प्रहरीको मृत्यु भएको थियो। बन्धक बनाइएका एक जना प्रहरीको भने उनीहरुले हत्या गरिसकेका छन्। माओवादीले बन्धक बनाइएका प्रहरीको रिहाइको लागि बिहारका विभिन्न कारागारमा रहेका आफ्ना ८ कार्यकर्ताको रिहाइको माग राखेको थियो।।