Monday, September 6, 2010
प्रधानमन्त्रीको टुंगो आज पनि लागेन, एकिकृत माओवादी अध्यक्ष दाहाल र काँग्रस उपसभापति छैठो पटक पराजित
छैटौं चरणको निर्वाचनले पनि प्रधानमन्त्रीको टुंगो लगाउन सकेन। व्यवस्थापिका संसदमा आज भएको छैटौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा दुवै प्रत्यासीले बहुमत प्राप्त गर्न नसकेपछि देशले अझै पनि नेतृत्व नसकेको हो। एकीकृत नेकपा माओवादीबाट प्रधानमन्त्रीका प्रत्यासी रहनुभएका पुष्पकमल दाहाललाई प्रधानमन्त्री चयन गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानमा दुई सय चालीस मत पक्षमा खसेको थियो। प्रस्तावको विपक्षमा एक सय एक मत खसेको थियो भने एक सय ६३ जना सभासद तटस्थ बसेका थिए। यसैगरी नेपाली कांग्रेसका प्रत्यासी रामचन्द्र पौडेलको प्रस्तावमाथि भएको मतदानमा एक सय २२ मत प्रस्तावको पक्षमा खसेको थियो। यसैगरी प्रस्तावको विपक्षमा दुई सय बत्तीस मत खस्यो भने एक सय बहत्तर जना सभासद तटस्थ बसेका थिए। आजको मतदानलाई मधेसी जनअधिकार फोरम नेपालले भने वहिष्कार गरेको थियो। छैटौं चरणको निर्वाचनले पनि प्रधानमन्त्रीको टुंगो नलागेपछि अब पर्सि भदौ बाइस गते पुनः प्रधानमन्त्रीको निर्वाचन हुँदैछ। आजको निर्वाचनपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सातौं चरणको निर्वाचन पर्सि गर्ने निर्णय गरेको हो। पर्सिको निर्वाचनले पनि प्रधानमन्त्रीको चयन गर्न नसके आठौं चरणको निर्वाचन असोज १० गते हुने तय गरिएको छ।
