Monday, September 20, 2010
नीति तथा कार्यक्रम पारित गर्दै कांग्रेस महाधिवेशनको तेस्रो दिनको बन्दसत्र सकियो, नयाँ नेतृत्वका लागि भोलि निर्वाचन
नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत नीति तथा कार्यक्रम परिमार्जनसहित पारित भएको छ। आजको बन्दसत्रले व्यापक छलफलपछि नीति तथा कार्यक्रम पारित गरेको हो। पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा संयोजक रहेको टोलीले नीति तथा कार्यक्रम तयार पारेको थियो। आजको बन्द सत्रमा नेपाली कांग्रेसको बैचारिक र सांगठनिक आधारलाई सशक्त र प्रभावकारी बनाउनुपर्नेमा कार्यकर्ताहरुले जोड दिएका थिए। काँग्रेसको जारी महाधिवेशनको आज तेस्रो दिनको बन्द सत्रमा नीति तथा कार्यक्रम उपर धारणा राख्दै महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वलाई यस्तो सुझाव दिएका हुन्। उनीहरुले नेपाली काँग्रेसको आर्थिक नीति गरिब, किसान र मजदुरको पक्षमा केन्द्रित हुनुपर्ने बताएका थिए। अधिकांशले वीपीको सिद्धान्तलाई नबिर्सिन र पार्टीलाई नेताभन्दा नीतिमुखी बनाउनु पर्नेमा जोड दिएका थिए। त्यस्तै, काँग्रेसको वर्तमान विधान गाउँदेखि केन्द्रीय सभापतिसम्मको हात बाँध्ने भएकोले त्यसमा संशोधन हुनुपर्ने माग गरेका छन्। काँग्रेस काभ्रेका सभापति शिवप्रसाद हुमागाईले क्रान्तिकारी कृषि नीतिको पक्षमा वकालत गरेका थिए। त्यस्तै संखुवासभाका सभापति तारामान गुरुङले माओवादीप्रतिको दृष्टिकोण स्पष्ट नभएको बताएका थिए। कञ्चनपुरका सभापति बहादुरसिंह थापाले महाधिवेशन नीति भन्दा निर्वाचनमुखी भएको गुनासो गरेका थिए। त्यस्तै नुवाकोटका सभापति जगदीशनरसिंह केसीले माओवादीसहित अन्य पार्टीलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने माग गरेका थिए। उदयपुरका सभापति हिमाल कार्कीले पार्टीको आर्थिक–सामाजिक नीति गाउँमुखी हुनुपर्ने माग गरेका थिए। नीति तथा कार्यक्रममा छलफल गर्दै कास्कीका सभापति यज्ञबहादुर थापाले वीपीको बिचारलाई नीति तथा कार्यक्रमले स्पष्ट रुपमा समेट्न नसकेको बताएका थिए। उता, तनहुँका सभापति ध्रुव वाग्लेले नेपालमा कम्युनिष्ट बिचार बढ्नुका कारणलाई नीति तथा कार्यक्रमले संबोधन गर्न नसकेको बताए। त्यस्तै सर्लाही सभापति ल73मण रायले पार्टीमा अनुशासन र मुल्याङ्कनको पद्धती प्रभावकारी रुपमा लागु गराउन नसकेको गुनासो गरेका थिए। त्यस्तै, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष गुणनिधि न्यौपानेले पार्टीको उच्च शिक्षा सम्बन्धि दृष्टिकोण स्पष्ट हुनुपर्ने माग गरेका थिए। यसैबीच आजैको वन्द सत्रले दुई वटा समसामयिक प्रस्ताव पारित गरेको छ। जसमध्ये पहिलो प्रस्तावमा चितवन जिल्लामा भाइरल ज्वरोको प्रकोपले १९ जनाको मृत्यु भएको र अन्य सर्वसाधारण विरामी भएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइएको थियो। अर्को प्रस्तावमा महाकालीमा आएको बाढिले गरेको जनधनको क्षतिका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइएको थियो।। नेपाली काँग्रेसको बाह्रौ महाधिवेशनको कार्यतालिका अनुसार भोलि नयाँ नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ। सभापतिका लागि सुशील कोइराला, शेरवहादुर देउवा र भीमबहादुर तामाङबीच त्रि–पक्षीय प्रतिस्पर्धा हुँदैछ। महामन्त्रीमा पनि त्रि–पक्षीय प्रतिस्पर्धा हुँदैछ। प्रकाशमानसिंह, विमलेन्द्र निधी र नरहरि आचार्य चुनावी मैदानमा छन्। कोषाध्यक्षका लागि चित्रलेखा यादव र पद्मनारायण चौधरीबीच प्रतिस्पर्धा हुँदैछ। सभापतिसहित तीन पदाधिकारी र ६१ सदस्यका लागि हुने निर्वाचनमा कुल तीनसय उनानचालीस उम्मेद्वार प्रतिस्पर्धामा छन्। स्पष्टै रुपमा तीन समूहमा विभक्त भएका प्रतिनिधिले नीतिभन्दा नेतृत्व छनोटलाई प्राथमिकता दिएका छन्। आफ्नो पक्षमा मत आकृष्ठ गर्न उम्मेद्वारहरुले अन्तिम प्रयास गरिरहेका छन्। यसैबीच, निर्वाचन समितिले भोलि बिहान ८ बजेदेखि चार बजेसम्म मतदान हुने जनाएको छ। प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने निर्वाचनमा तीन हजार आठ सय अठासी मतदाता सहभागि हुनेछन्। निर्वाचनका लागि एक्काइसवटा बुथ र नौं प्रकारका मत–पत्रको व्यवस्था गरिएको छ। सात वटा बुथ १४ अन्चल र खुला उम्मेद्वारका लागि मत खसाल्न प्रयोग गरिने छ। त्यसैगरी, आरक्षणका लागि सात वटा बुथ र पाँच प्रकारको मतपत्रको व्यवस्था गरिएको छ। सभापतिसहित दुई जना पदाधिकारीका लागि मत खसाल्न दुई प्रकारको मत पत्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिकाअनुसार प्रत्येक मतदाताले तीन चरणको मतदानमा भाग लिनुपर्ने छ। मत खसाल्न प्रति मतदाताका लागि बीस मिनेट समय लाग्ने बताइएको छ। मदतान सकिए लगत्तै सभापतिको मतगणना गरिने र मत एकाउन्न प्रतिशत भएमात्र अन्य मत गणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। भोलिको निर्वाचनमा विधानत सभापतिले एकाउन्न प्रतिशत मत पुर्याउन नसके पर्सी मतदान हुनेछ। दोस्रो मतदानमा भने एकाउन्न प्रतिशत लागू नहुने बताइएको छ।
