Tuesday, September 21, 2010
सभापतिको मतगणना राति ८ बजेदेखि
कांग्रेसको नयाँ नेतृत्वका लागि बिहानदेखि भएको मतदान साँझ सकिएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको मतदानमा ३ हजार ३७ मतदाता सहभागी भएको निर्वाचन समितिले जनाएको छ । मतदानमा ५१ जना अनुपस्थित थिए ।
मंगलबार राति ८ बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा सभापतिको मतगणनामात्र सुरु हुने छ । तीन उम्मेदवारमध्ये एकजनाले ५० प्रतिशत मत कटाए विजयी उम्मेदवार घोषणा हुनेछ । कसैले पनि ५० प्रतिशत मत नपुर्याएमा बढी मत ल्याउने दुई जनाबीच बुधबार मतदान गराइने जानकारी निर्वाचन समितिका वासुदेव आचार्यले दिए । सभापतिको पुनः मतदान गर्नुपर्ने अवस्था आए मतदानपछि एकैपटक मतगणना हुने उनले बताए ।
निर्वाचनमा संस्थापनबाट सभापतिमा सुशील कोइराला, महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा पद्मनारायण चौधरी, देउवा प्यानलबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्री विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादव तथा तेश्रो धारबाट सभापतिमा भीमबहादुर तामाङ र महामन्त्रीमा नरहरि आचार्य मैदानमा छन् । ६१ सदस्यीय केन्द्रीय सदस्यका लागि ३ सय ३६ मैदानमा छन् ।
बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टा ढिलो मतदान सुरु भएको थियो । तर मतदाताहरु भने बिहान ७ बजेदेखि नै लाइनमा बसेका थिए । भोट दिन र मतगणना गर्न सजिलो होस् भनेर मतदातालाई सभापति, अरु पदाधिकारी, खुला २५, अञ्चलका १४ सिट, समावेशीका पाँच समूहका गरी नौवटा मतपत्र दिइएको थियो ।