Tuesday, September 7, 2010

काठमाडौं उपत्यकामा भीषण वर्षा, विभिन्न ठाँउ जलमग्न

सोमबार साँझदेखि परेको वर्षाका कारण राजधानीका विभिन्न ठाउँ जलमग्न भएका छन्। बाग्मती, विष्णुमती, धोविखोला लगायतका नदी तथा खोलामा आएको बाढीका कारण नदी किनाराका सुकुम्बासी बस्ती प्रभावित भएका छन्। काठमाडौंका मुख्य सडकमा पानी जमेका कारण सवारी आवागमनमा पनि बाधा पुगेको छ। अविरल वर्षाका कारण काठमाडौंको बाफल, टेकु, सितापाइला, कुप48डोल, जमल, पुतलीसडक, मैतीदेवी, कुमारीपाटी, बल्खु, कलंकी लगायतका स्थानहरु जलमग्न भएका छन्। हिजो साँझदेखि बिहानसम्म काठमाडौंमा एकसट्ठी दशमलव पाँच मिलिलिटर पानी परेको मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौंको बाग्मती, विष्णुमती, धोविखोला लगायतका खोलामा आएको बाढीका कारण खोला किनारमा रहेका सुकुम्वासी वस्ती प्रभावित भएका छन्। यसैबीच, काभ्रेको ज्याम्दीमा वर्षाका कारण घर भत्कदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काजीराम परियार र उनका छोरा सुजन रहेका छन्। काजीरामकी श्रीमती शान्ति र छोरा सुमन घाइते भएका छन्। उता, काठमाडौंको टल्कु डुडेचौर गाविस आठस्थित विष्णु खोलाले गएराति एउटा बलेरो जीप बगाउँदा चार जनाको मृत्यु भएको छ। हेटौडाबाट काठमाडौं आइरहेको ना १ ज २१२७ नम्बरको जीप बगाउँदा चार जनाको मृत्यु भएको र छ जना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु भएका मध्ये चालक उमेश थपलियाको मात्रै पहिचान खुलेको छ। घाइतेको उपचार भैरहेको प्रहरीले जनाएको छ।

Total Pageviews