Thursday, June 18, 2009

दलका नेताका लागि कांग्रेस नेताहरुको दौडधुप

शनिबार हुने संसदीय दलको निर्वाचनका लागि कंाग्रेस नेताहरुको दौडधूप निकै बढेको छ ।
दलको नेताका लागि कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभाति रामचन्द्र पौडेल र महामन्त्री कुलबहादुर गुरुङले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
संसदीय दलको नेतामा नरहरि आचार्य समूहबाट पनि उम्मेदबारी पर्न सक्ने बुझिएको छ । आचार्यका तर्फबाट उम्मेदवारी नपरे तीन जनाबीच भिडन्त हुने सम्भावना बढेको छ ।
दलका नेता बाहेक संसदीय समितिमा पाँच विकास क्षेत्रबाट एक/एक गरि पाँचजना र समानुपातिकबाट १२ गरि १८ सदस्यीय रहने व्यवस्था छ ।
संविधानसभाको निर्वाचन भएको १५ महिनापछि हुन लागेको संसदीय दलको नेता छनोटमा पनि नेताहरु भने कम्मर कसेर लागेका छन् ।
दलको नेताका लागि उम्मेदवारी दिने घोषणा गरेका नेताहरु दैनिक जसो निरन्तर भेटघाट र छलफलमा जुटेका छन् । नेता देउवाले आफू निकट नेताहरुलाई घरमै बोलाएर आफ्ना पक्षमा मत माग्न निर्देशन दिएका छन् । देउवाका घरमा उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री विमलेन्द्र निधिलगायतका नेताहरु दैनिक जसो पुग्ने गरेका छन् ।
उनीहरुलाई नेता देउवाले आफूलाई सभापति गिरिजाप्रसाद र्कोरालाको पनि समर्थन रहेकाले आफ्ना पक्षमा मतदानका लागि सभासद्हरुलाई सहमत गराउन आग्रह गरेको स्रोतले जनाएको छ ।
उपसभापति श्रेष्ठ र नेता निधि सभासद्हरुलाई देउवाका पक्षमा पार्न लागिरहेको बताइएको छ । उनीहरुले दिनभर आफू निकटका सभासद्हरुसँग भेटघाट गरिरहन्छन् । उनीहरुले आफ्ना पक्षमा करिव ६० सभासद् रहेको दावी गरेका छन् ।
देउवाले सभापति कोइरालाको सरकारमा सहभागी गराउने ब्यक्तिहरुको निर्णयलाई मौन समर्थन गरेर कोइरालालाई आफ्नो पक्षमा पारेको दाबी गरेका छन । दलको नेताका लागि कम्मर कसेर लागेका महामन्त्री गुरुङ पनि आफ्ना पक्षमा ६७ सभासद् रहेको दावी गर्छन । गुरुङको पक्षमा प्रमुख सचेतक लक्ष्मण घिमिरे, केन्द्रीय सदस्यहरु गोविन्दराज जोशी, डा. नारायण खड्का, बलबहादुर केसी, पूर्णकुमार शेर्मालगायतका नेताहरु खुलेरै लागेका छन् ।
उनले आदिवासी, जनजाति, मधेशीलगायतका नेताहरुको मत आफूलाई पर्ने दाबी गरेका छन् ।
कांग्रेस संसदीय दलमा जम्मा १ सय १३ सदस्य छन् ।
सभापति कोइरालाको पूर्ण समर्थन रहेको दावी गर्ने पौडेलले पनि आफ्ना पक्षमा बहुमत रहेको बताउँछन । उनलाई कार्यवाहक सभापति सुशील कोइराला, खुमबहादुर खड्कालगायतको पूर्ण समर्थन छ ।
पौडेल निकट एक नेताले पहिलो चरणको निर्वाचनमा महामन्त्री गुरुङ पाखा लाग्ने र दोश्रो चरणमा हुने निर्वाचनमा गुरुङलाई परेको मत पनि पौडेललाई पर्ने दाबी गरे ।
नरहरि आचार्यसहितका नेताहरुले महिला उम्मेदवार बनाउने प्रयास गरेको बताइएको छ । उनीहरुले सुप्रभा घिमिरेलाई दलको नेताको उम्मेदवारीका लागि अघि सार्न सक्ने उनी निकट एक नेताले बताए ।
कांग्रेस निकट एक विश्लेषकहरुले भने यी सबैलाई 'केही समयका लागि' मात्रै भनेका छन् ।
उनले सभापति कोइरालाले नै अन्तिम समयमा उम्मेदवारी दिन सक्ने बताए ।

Total Pageviews