Wednesday, June 10, 2009

भारतले नै दिएको गाडी चढेर अतिक्रमणको अनुगमनमा गए नेता

भारतले अतिक्रमण गरेको भूमिको स्थलगत अवलोकन गर्न गएका छन् हाम्रा सभासद् । तर, दुःखको कुरा, भारतले नै उपहारस्वरूप दिएको गाडी चढेर ।

सभासद्हरूको टोली भारतले उपहार दिएको बस चढेर सोमबार साँझ दाङ पुगेको छ । प्रमुख दलसहित संविधानसभामा प्रतिनिधित्व गर्ने १८ दलका नेता टोलीमा छन् ।
संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिको नेतृत्वमा सर्वदलीय टोली सोमबार बिहान काठमाडौंबाट हिँडेको हो । भारतीय दूतावासले उपहारमा दिएको बा १ ग २२४२ नम्बरको मिनीबस चढेर सर्वदलीय टोली मंगलबार साँझ नै दाङ पुगेको थियो । टोलीको नेतृत्व समितिका सभापति अमिक शेरचनले गरेका छन् ।

भारतीय सीमा सुरक्षाबलले दाङको राजपुर र बेला गाविसका करिब २२ नाकाका हजारौँ नेपालीलाई विस्थापित गरेपछि पीडितहरू देउखुरी क्षेत्रमा शरण लिइरहेका छन् । विस्थापित र अतिक्रमित भूमिको स्थलगत अवलोकन गर्न सर्वदलीय टोली त्यसतर्फ गएको हो ।

सभासद्हरूलाई संविधानसभा तथा संसद्को बैठकमा जान र र्फकन भारतीय दूतावासले करिब एक वर्षअघि पाँचवटा मिनीबस संविधानसभा सचिवालयलाई उपहार दिएको थियो । बसमा भारतको झन्डासमेत राखेर 'भारत सरकारको सहयोग' लेखिएको थियो ।

मिडियामा विरोध भएपछि सभासद्ले तत्कालै ती बस नचढ्ने घोषणा गरेका थिए । सभासद्हरूको चर्को विरोधपछि बसमा लेखिएको 'भारत सरकारको सहयोग' र भारतीय झन्डा सचिवालयले मेटेको थियो । तर, सीमा सुरक्षाको अवलोकन गर्न भने सर्वदलीय नेताहरू तिनैमध्येको एक बस चढेर गएका छन् ।

स्रोतका अनुसार सर्वदलीय टोलीका सदस्यले भारतले दिएको बस चढेको विषयमा बाटामा पनि मजाक गरेका थिए । 'भारतीय विस्तारवादको विरोध गर्न भारतीय गाडी नै चढेर जाने, कस्तो अनौठो ! भन्दै सहभागीले टोलीनेता शेरचनसित ठट्टा गरेका थिए ।

टोलीमा सहभागी एक सभासद्का अनुसार 'भारतीय बस चढेर सीमा अतिक्रमणको अनुगमन गर्न आउने हामी पनि भारतीय दलाल भयौँ' भनेर एक सहभागीले चिच्याएर भनेपछि बसभरि हाँसो गुन्जिएको थियो । माओवादीकै नेता अमिक शेरचनले भारतद्वारा उपहारमा आएको बसको प्रबन्ध गरेको भन्दै टोलीका सदस्यहरूले उनलाई जिस्काएका थिए । शेरचन पनि मुसुमुसु हाँसेर बसेको ती सभासद्ले बताए ।

भारतद्वारा अतिक्रमित नेपाली भूमिको अवलोकन गर्न भारतले नै दिएको बस चढेर गएकामा सहभागी केही सदस्यलाई मन भने परेको छैन । तर, उनीहरूले त्यसको विरोध पनि गरेका छैनन् । 'लाग्न त अनौठो-अनौठो नै लागेको छ । तर, बसमा लेखेको (भारत सरकारको सहयोग) त मेटाइसकिएको छ, हैन र ?' टोलीमा सहभागी कांग्रेस सभासद् ध्यानगोविन्द रञ्जितले नयाँ पत्रिकासित भने । त्यस्तो बसमा जाने कुरा आफूलाई पहिले थाहा नभएको पनि उनले बताए ।

संसद्कै अर्को टोली भने हवाईजहाज चढेर अतिक्रमित भूमिको अवलोकन गर्न गएको छ । संसद्को मानवअधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोली सोमबार नै त्यसतर्फ लागेको हो । यस टोलीको नेतृत्व समितिका सभापति पदमलाल विश्वकर्माले गरेका छन् ।

दुवै टोलीको दाङ पुगेपछि सोमबार राति मात्रै भेट भएको थियो । आपसी सहमतिअनुसार दुई टोली छुट्टाछुट्टै बाटोबाट स्थलगत अनुगमनमा लागेका छन् । विश्वकर्माले नेतृत्व गरेको संसदीय टोलीले दाङको कोइलावास र शेरचनले नेतृत्व गरेको सर्वदलीय टोलीले बाँकेको कुसुमबाट अवलोकन थालेको छ । दुवै टोली बिहीबार थांग्रा नाकामा भेट्ने कार्यक्रम तय भएको विश्वकर्माले बताए ।

विश्वकर्माको टोली मंगलबार साँझ कोइलावास पुगेको छ । 'हामी यहाँ (कोइलावास) पुगेर स्थानीयवासीसित अन्तर्त्रिया गरिरहेका छौँ,' टोलीनेता विश्वकर्माले फोनमा भने ।

Total Pageviews