सत्तासीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दुईदिन भित्रैमा मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् । उनले एमालेका तर्फबाट बन्न लागेका थप ६ जना मन्त्रीको नामावली प्रधानमन्त्री माधवकुमार नेपाललाई शुक्रवार नै बुझाइसकिएको जानकारी दिए। विराटनगर पुगेका खनालले भने, "अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय एमालेले नै राख्नेछ।"
एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ मोरङको छैठौं नगर सम्मेलनको शनिवार उदघाटन गर्दै अध्यक्ष खनालले एकिकृत नेकपा माओवादीलाई सहमती ल्याउने प्रयास भइरहेको बताए। माओवादीलाई जुनसुकै हालतमा पनि सहमतीमा ल्याउनु पर्ने खनालले दोहोर्याए।
खनालले भने, "सहमती बेगर राष्ट्र अगाडि बढ्न सक्दैन त्यसैले माओवादीलाई सहमतीमा ल्याउनै पर्छ।' माओवादीलाई सहमतीमा ल्याउन एमालेले पहल सुरु गरिसकेको जानकारी दिदै खनालले चांडै सरकार बाहिर रहेका शक्तिलाई सहमतीमा ल्याइने विश्वास व्यक्त गरे।
"कांग्रेस दक्षिणपन्थी भडकाउ र परिवर्तनको बाधक रहेको तथा माओवादी उग्रं रहेकोले दुबैलाई समायोजन गर्ने जिम्मा एमालेको हो'-खनालले भने। कांग्रेस र माओवादीलाई समायोजन गरी सरकारलाई 'रोड म्याप'अनुसार चलाइने खनालले दाबी गरे।
जनतालाई शान्ति दिन नसकेको हिंसा, हत्या र आंतक जारी राखेकाले माओवादी नेतृत्वको सरकार ढलेको खनालको भनाई थियो। उनले भने- "सरकार बनाउन सहयोग गर्ने नजिकका दलका नेता / कार्यकर्ताको हत्या गरेका कारण माओवादी सरकार ढलेको हो।"
एमाले नेता तथा कार्यकर्तामाथि हमला गर्नेलाई नछोड्न एमाले अध्यक्ष खनालले विराटनगरका युथफोर्सलाई पनि निर्देशन दिए।
एमाले अध्यक्ष खनाल शनिवार नै धनकुटामा आयोजना गरिएको पार्टीको जिल्ला अधिवेशनका समेत उदघाटन गरेका छन्।