Sunday, May 31, 2009

जतिसुकै विषवमन गर, अमृत झैं पिइदिन्छुः प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले माओबादीले आफूबिरुद्ध जतिसुकै बिष बमन गरे पनि नीलकण्ठ बनेर पिइदिने बताएका छन् ।
'मेराबारेमा माओवादीले जतिसुकै कुरा काटुन्' प्रधानमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आएका उनले आइतबार भने, 'म त्यसलाई अमृत सम्झन्छु ।' चन्द्रनिगाहपुरस्थित बहुमुखी क्याम्पसमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा उनले आफू अप्ठ्यारो अवस्थामा प्रधानमन्त्री भएकाले धेरै चुनौतीको सामना गर्नुपर्ने बताए ।

'बेबी किङ्ग' का बारे माओबादीले मात्र हल्ला गरेको आरोप लगाउदै उनले भने 'राजतन्त्रको बिधिवत रुपमा अन्त्य भएको अवस्थामा बेेबिकिङ्गको हल्ला चलाउने माओबादीप्रति शंका गर्नुपर्ने बेला आएको छ ।'

सरकारको पहिलो प्राथमिकता जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु र समयमा सबिधान निर्माण गर्नु रहेको उनले प्रष्ट्याए । माओबादीलाई सरकारमा लैजान हरसम्भव प्रयास भइरहेको जानकारी दिदै नेपाललेे १२ बँुदे सहमतिलाई पालना गर्दै माओबादीलाई समेत सरकारमा सामेल गराएर लैजाने बताए ।

एमाले सधै नागरिक सर्बोच्चताको पक्षमा रहेको धारणा उनले व्यक्त गरे । कार्यक्रमपछि प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटमा प्रधानमन्त्री नेपालले 'भ्रष्ट्राचार उन्मुलन गर्ने र जनतालाई राम्रो शासन दिने' बताए ।

मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको भन्दै प्रधानमन्त्री नेपालले एक-दुई दिनमा सबै टुङ्गो लाग्ने जानकारी दिए । प्रधानमन्त्रीले सम्ब्ाोधन गरिरहेका बेला पछाडिबाट केही माओबादी कार्यकर्ताहरुले कालोझन्डा फ्याँकेर विरोध गरेका थिए । कालोझन्डा फ्यांक्ने दुईजनालाई युथफोर्सका कार्यकर्ताले नियन्त्रणमा लिइ सशस्त्र प्रहरीलाई बुझाएका थिए ।

आफू प्रधानमन्त्री भएपछि बिदेश जानुभन्दा पहिले आफ्नै गृहजिल्ला जान्छु भनेर आएको उनले बताए । निकै प्रसन्न देखिएका प्रधानमन्त्री नेपाललाई चन्द्रनिगाहपुरमा माओवादीबाहेकका सबै दलका प्रतिनिधिले भब्य स्वागत गरेका थिए ।

अनौपचारिक पोशाकमा पत्नी गायत्रीसाथ आएका प्रधानमन्त्री नेपाल प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा एक घन्टा ढिलो कार्यक्रममा उपस्थित भएका थिए । त्यसक्रममा उनी चढेको हेलिकप्टर अवतरण गर्नेक्रममा स्थानीय ब्यापारीको पसलको छाना उडाएर सशस्त्र प्रहरीका डिआईजी शैलेन्द्रकुमार श्रेष्ठ घाइते भएका छन् ।

चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर पुगेर नेपालले कार्यकर्ता, सरकारी कार्यालयका प्रमुख तथा सुरक्षानिकायका प्रमुखसँग भेट गरेका थिए । समय अभावले उनको कोसी कटान क्षेत्र निरीक्षण कार्यक्रम रद्द गरिएको थियो । प्रधानमन्त्री आइतबार साँझ राजधानी फर्केका थिए ।

Total Pageviews