Friday, July 29, 2011
महेन्द्रनगर प्रदर्शनका क्रममा दुई प्रहरी सहित ८ जना घाइते
सुदुरपश्चिम विश्वविश्वद्यालयका लागि विद्यार्थी संगठनहरुले बिहीबार पनि महेन्द्रनगरमा प्रदर्शन गरे। प्रदर्शनका क्रममा प्रहरीसंग भएको झडपमा दुई प्रहरी सहित ८ जना घाइते भएका छन्। शिक्षा मन्त्रालयले सुदूरपश्चिम विश्वविद्यालयका लागि ६ करोड विनियोजन गरेको जानकारी गराएपछि आन्दोलन झन् चर्किएको हो। बजेट बढाउनुको सट्टा गतवर्ष भन्दापनि घटाएको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन चर्काएको छ।
उपकुलपति नियुक्त गरेर प्रर्याप्त बजेट विनियोजन गर्न माग गरी विद्यार्थी, राजनीतिक दलले गरेको तीन दिनदेखि कञ्चनपुर बन्दले जनजीवन प्रभावित भएको छ, सरकारी कार्यालयमा कामकाज अवरुद्ध पारिएको छ, बजार व्यवसाय, उद्योग धन्दा, यातायात बन्द रहेका छन्। दश दिनदेखि जारी आन्दोलनका कारण महेन्द्रनगरको जनजीवन अस्तव्यस्त छ। बिहीबार प्रदर्शनमा उत्रिएका विद्यार्थीले केही सरकारी कार्यालयमा तोडफोड गरेका छन्। उनीहरुले व्यवसायिक तथा सीप विकास कार्यालयको ढोका फुटालेर भित्र पसेर कम्प्युटर, प्याक्स मेशिन, प्रिन्टर, फर्निचर तोडफोड गरेका थिए। प्रदर्शनकारीहरुले जिल्ला विकास समिति र कृषि विकास बैंकमा समेत ढुङ्गामुढा प्रहार र सडकमा टायर बालेका थिए। यसैवीच सो आन्दोलनको सर्मथनमा डडेल्धुरामा पनि तीनवटा विद्यार्थी सगंठनहरुले संयुक्तरुपमा आन्दोलन सुरु गरेका छन्।