Saturday, June 4, 2011
अनसनमा हस्तक्षेप गर्दै रामदेवलाई उनकै आश्रमतर्फ पठाइयो
भारतीय योग गुरु रामदेवलाई गएको मध्यरातमा प्रहरीले हस्तक्षेप गरी अनसन तोड्दै उनकै हरिद्वारस्थित आश्रमतर्फ पठाइएको भारतीय गृह सचिव जीके पिल्लाइले बताएका छन्। 'उनलाई उनकै आश्रम पठाउँदैछौँ, दिउँसोसम्म उनी त्यहाँ पुग्नेछन्', उनले बताए।
मध्यरातमा भएको प्रहरी हस्तक्षेपपछि रामदेवको समर्थनमा दिल्लीको रामलीला मैदानमा अनसन बसेका हजारौँ समर्थक तितरबितर भएका थिए। प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेपछि अनसन स्थल आतंकित भएको थियो।
रामदेवका समर्थकहरुले योगगुरुलाई गिरफ्तार गरिएको आरोप लगाएका छन्। पिल्लाइले उनलाई केही समयका लागि नियन्त्रणमा लिइएको र पछि दिल्ली बाहिर पठाएको बताए।
उनले हिजो समर्थकहरुलाई सम्बोधन गर्दै आन्दोलन हिंसाउन्मुख नहुने तर सरकारले हस्तक्षेप गर्यो भने ठीक नहुने चेतावनी दिएका थिए। पिल्लाइले कुनै पनि आपतकालीन अवस्थालाई सम्हाल्न नयाँ दिल्ली प्रहरी तयार भएको बताए।
भ्रष्टाचारविरुद्ध कडा कानून ल्याउनुपर्ने तथा विदेशमा राखिएका भारतीय धन राष्ट्रियकरण गरिनुपर्ने मुख्य माग रामदेवको छ। यसबाहेक १ हजार र ५ सय रुपियाँका नोट छाप्न बन्द गर्नुपर्ने, भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड दिनुपर्नेलगायत माग पनि उनले अघि सारेका छन्।
पटकपटक सरकारले उक्त कार्यक्रम रोक्न रामदेवलाई आग्रह गरे पनि सफल हुन सकेन । अर्थ मन्त्री प्रणव मुखर्जीदेखि प्रधान मन्त्री मनमोहन सिंहसमेतले रामदेवलाई सत्याग्रह रोकाउन निकै प्रयास गरेका थिए। तर यसका लागि महिनौंदेखि तयारी गरिरहेका उनले सरकारको आग्रहलाई बेवास्ता गरेपछि प्रहरीले हिजो कारबाही गरेको हो।