Monday, January 17, 2011
हिसिलालाई बोल्दाबोल्दै मञ्चबाटै झारियो
भृकुटीमण्डमा भइरहेको माओवादी प्रशिक्षणमा माओवादी नेतृ हिसिला यमीलाई बोल्दाबोल्दै मञ्चबाटै झारिएको छ। माओवादीका नेवा राज्य इन्चार्ज हितमान शाक्यले यमीलाई मञ्चबाट धकेलर झारेका हुन्। पार्टीकै नेताले दुर्व्यवहार गरेपछि उनले प्रशिक्षण बहिष्कार गरेर बाहिरिएकी छन्।
उनले पार्टीमा आन्तरिक जनवादको अभ्यास नभएको भन्दै आफैँ डायसमा गएर अध्यक्षले जवाफ दिनुपर्ने बताएकी थिइन्।
यमीको आग्रहलाई बेवास्ता गर्दै प्रचण्डले सम्बोधनमा त्यस बारे कुनै विषय नै प्रवेश नगरी प्रशिक्षण टुंग्याएपछि आक्रोसित बनेकी यमी 'एक हातले बज्दैन', 'आन्तरिक जनवाद, जिन्दावाद!' भन्दै बाहिर निस्किएकी थिइन्। उनको आग्रहपछि बाबुराम पक्षीय सभासद र सहभागीहरुले समेत प्रशिक्षण बहिष्कार गरेका छन्। यमकी आग्रहपछि भट्टराई पक्षका सभासदहरु खिमलाल देवकोटा, हेमराज भण्डारी प्रशिक्षण छाडेका छन्।
यसअघि नेकपा माओवादीद्वारा पार्टी कार्यकर्ताका लागि भृकुटीमण्डपमा आयोजित प्रशिक्षण सोही पार्टीका नेता बाबुराम भट्टराईले बहिष्कार गरेका थिए। आफूलाई फरक मत राख्ने अवसर नदिइने भएपछि उनले कार्यक्रम बहिष्कार गरेका थिए। पालुङटारमा आयोजित पार्टीको विस्तारित बैठकमा उनले फरक मत प्रस्तुत गरेका थिए। यो फरक मतलाई पार्टीको तल्लो तहसम्म लैजाने निर्णय केन्द्रीय समितिले नै गरेको छ। साथै विधानमा पनि पार्टीको फरक मत सबैभन्दा तल्लो तहसम्म छलफलका लागि लैजाने उल्लेख छ।
तर विधान र केन्द्रीय समितिको यही निर्णयविपरित आफूलाई बोल्न नदिइने भएपछि बाबुरामले प्रशिक्षण बहिष्कार गरेका हुन। प्रशिक्षणमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने बोलेका थिए।