Sunday, October 31, 2010
अष्ट्रेलियामा, सफल नेपालीहरू
गतबर्ष अष्ट्रेलियाका धनी मध्ये १ सय ६४ औं स्थानमा शेष घलेको नाम आएपछि नेपालमासमेत उनको चर्चा भयो । उनी करिब १५ बर्षअघि बिद्यार्थीको रुपमा अष्ट्रेलिया आएका थिए । गतवर्ष उनसंग २ सय ८ मिलियन अष्ट्रेलियन डलर सम्पति रहेको बताइएको थियो ।
अष्ट्रेलियामा नेपाली बिद्यार्थीहरुले काम नपाएर दु:ख झेल्नुपरेको समाचारहरु आइरहे पनि शेष घले मात्र होइन अरुपनि धेरै नेपालीहरु आफ्नो क्षेत्रमा सफल भएका छन् । उनीहरु सबै विद्यार्थीकै रुपमा अष्ट्रेलिया आएका थिए र आफ्नै बुत्तामा प्रगति गरे । सफल बने ।
यस्तै सफल नेपाली मध्येका हुन् एक डा. होमती पन्त । उनी अहिले अष्ट्रेलियाको केन्द्रीय सरकारमा उच्च तहका अर्थशास्त्रीका रुपमा कार्यरत छन् । अर्का हुन्– डा. कृष्ण हमाल उनी निर्माण मन्त्रालयका प्रवक्ता छन् ।
यसरी सरकारी कार्यालयका उच्च ओहोदामै पुगेका करिव सय नेपाली यहाँ छन् ।
यति मात्र होइन, नेपालीहरुले यहाँ आफ्नै क्याम्पस, इन्स्टिच्युटका साथै अन्य ठूला/साना ब्यापार ब्यवसाय समेत चलाएका छन् । अष्टेलियास्थित नेपाली राजदुतावासका अनुसार बिशेष गरेर यहाँ नेपालीहरुमध्ये पनि बैज्ञानिक, प्राध्यापक, ब्यवसायी, इन्जिनियरहरु सफल बनेका छन् ।
कयौं नेपालीहरु अष्ट्रेलियाको बिभिन्न बिश्वबिद्यालयमा प्राध्यापकका रुपमा समेत कार्यरत छन् । डा. भेषराज भण्डारी, डा. नगेन्द शाह, डा. अशेष श्रेष्ठ आदि बिश्वबिद्यालयका सफल पेशाकर्मी नाम हुन् । उनीहरुले प्राध्यापनमा नाम कमाएका छन् ।
त्यस्तै डा. डिडि कट्टेल यहाँको वाटर रिसोर्स क्षेत्रमा काम गरिरहेका बैज्ञानिक हुन् । अष्ट्रेलियाको बैज्ञानिक अनुसन्धाताको रुपमा बैज्ञानिक डा. राजु अधिकारी अहिले पनि अष्ट्रेलियाका सरकारको उच्च तहको बैज्ञानिकको रुपमा गनिन्छन् । अधिकारी तत्कालिन रोनाष्टका बैज्ञानिक थिए ।
अष्टेलियास्थित नेपाली राजदुतावाससँग यहाँ कति नेपालीहरु छन् र कति जना के कस्ता काममा लागेका छन् भन्ने यकिन तथ्यांक छैन । तर, गैरअवासीय नेपाली संघ (एनआरन) अष्ट्रेलियाले करिब ५० हजार रहेको अनुमान लगाएको छ । जसमध्ये अधिकाँश बिद्यार्थीहरु छन् ।
एनआरन अष्ट्रेलियाका अध्यक्ष ध्रुव सुवेदीका अनुसार यहाँ रहेका नेपालीहरुमध्ये ३५ हजारभन्दा धेरै सिड्नीमा बसोबास गरिरहेका छन् । जस मध्येपनि सिड्नीको ग्रान्भिल भन्ने स्थानमा करिब १ सय ५० नेपालीहरुले ब्यवस्थित बसोबास गरिरहेका छन् ।
धनी र सफल नेपालीहरु यहाँ भएपनि उनीहरुको लगानी नेपाल भित्र्याउनका लागि सरकारले वातावरण नबनाएको गुनासो यहाँका नेपालीहरुमा छ । अष्ट्रेलियामा सिपिएका रुपमा काम गरिरहेका गोवा कटुवालका अनुसार नेपाल सरकारलाई लगानीको वातावरण बनाउनका लागि पटक पटक अनुरोध गरिएपनि कुनै भरपर्दो आश्वासन पाएको छैन ।
'यहाँको लगानी नेपाल भित्र्याउन नेपाल सरकारले पहल गर्ने हो भने बार्षिक करोडौको लगानी नेपाल जाने सम्भावना छ' एनआरएनका पुर्व अध्यक्ष समेत रहेका उनले भने ।
नेपाली राजदुतावासका प्रथम सचिव लोकबहादुर थापाका अनुसार राजदुतावासले तथ्यांक संकलन गर्ने प्रयास गरिरहेको छ । यहाँ रहेका नेपालीहरुले राजदुतावासमा सम्पर्क नगर्ने र रजिष्टर समेत नगर्ने गरेकाले समस्या भएको उनको भनाई छ ।
'अनिवार्य दर्ता गर्नुपर्ने नियम नभएका कारणसमेत समस्या भएको हो' उनले भने, 'तर हामी यसको प्रयासमा लागिरहेका छौं ।' यहाँ रहेका नेपालीहरुको लगानी नेपाल भित्र्याउनका लागि एनआरएनसँग छलफल भइरहेको उनको भनाई छ ।