अग्नि एयरको ९ एन ए. एच. इ. डी–२२८ डोनियर क्राफ्ट विमान सोलुको लुक्ला विमानस्थलबाट काठमाडौं फर्कने क्रममा मकवानपुरको शिखरपुर गाउँ विकास समिति–२ स्थित वस्तीपुरमा दुर्घटना भएको छ। काठमाडौंबाट सोलुको लुक्लाका लागि उडान भरेको सो विमान खराब मौसमका कारण लुक्ला विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्कने क्रममा बिहान करिब सात बजे दुर्घटना भएको थियो।
विमानमा चौध जना यात्रु रहेको र सबैको मृत्यु भएको आशङ्का गरिएको छ। विमान टुक्राटुक्रा अवस्थामा रहेको र शवहरु यत्रतत्र छरिएको अवस्थामा रहेको स्थानीय बासिन्दाले जनाएका छन्। विमानमा ६ विदेशी र चालक दलका सदस्यसहित ८ नेपाली रहेका थिए। विदेशी नागरिकमा ४ अमेरिकी, एक जापानी रहेका थिए भने एक जनाको पहिचान हुन सकेको छैन।
विदेशी यात्रुहरुमा जिरिमि, काडोसो, एसथिम्स, फोरोन, र वाइ ह्यासी तथा नेपालीमा सी भोटे, पी शेर्पा, एच रिजाल र मिस राई तथा पर्यटक गाइड प्रकाश आमगाइँ रहेका छन्। त्यसैगरी विमानका क्याप्टेन लक्ष्मणप्रकास विक्रम शाह, को–पाइलट सोफिया सिंह, एयर होस्टेज सहारा शेर्पाको पहिचान भएको छ। अन्य यात्रुको भने नाम खुल्न सकेको छैन। यात्रुका शवहरु यत्रतत्र छरिएको अवस्थामा रहेको स्थानीय बासिन्दाले टेलिफोन मार्फत जानकारी दिएका छन्। विमान टुक्राटुक्रा अवस्थामा रहेको छ। पानी परिरहेकोले उद्दार कार्यमा कठिनाई भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलस्थित उद्धार महाशाखाले जनाएको छ। यसैबीच चिकित्सक, उड्डयान प्राधिकरणका विशेषज्ञको टोलीसहित १९ जना लिएर उद्धारका लागि नेपाली सेनाको एम आइ १७ र फिस्टेल एयरको हेलिकप्टर घटनास्थलतर्फ गएका छन्। स्थलमार्गबाट गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ।।