एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रधानमन्त्री आफू भएको बताएका छन्। 'जनताको प्रधानमन्त्री म हुँ', उनले भने- कसैले भनेको मानिदिने संकेत मात्र दिएको भए अहिलेसम्म म नै प्रधानमन्त्री भइरहने थिए। मकवानपुरको दामनमा थाहा आन्दोलनका प्रवर्तक रुपचन्द्र बिष्टको शालिक अनावरण गर्ने क्रममा उनले यो बताएका हुन।
दाहालले यसअघि दामनमा उनले बिहान पत्रकारसँग नागरिक सर्वोच्चता कायम गर्न तेस्रो जनआन्दोलनको तयारीमा पार्टी रहेको जानकारी पनि उनले दिएका थिए। "कठपुतली सरकारविरुद्ध निर्णायक तेस्रो आन्दोलन गर्ने तयारीमा माओवादी छ"- दाहालले भनेका थिए। तेस्रो जनआन्दोलनको नेतृत्व एकीकृत नेकपा माओवादीले नै गर्ने पनि उनले बताएका थिए। राष्ट्रवादी,देशभक्त र नागरिक समाजसहितको मोर्चा बनाएर तेस्रो जनआन्दोलको गर्ने उनको तर्क छ।
"आन्दोलनले राष्ट्रघाती, प्रतिक्रियावादी, दलाल र अवसरवादीहरुलाई समाप्त पार्ने छ" उनले भने, "यो बुख्याचाहरुको सरकार हो। यसले नेपाली जनतालाई दासमात्र बनाउँछ।"
दाहालले नेपालको इतिहासमा यस्तो सरकार कहिल्यै नबनेको दाबी गर्दै प्रभुहरुले बनाइदिएको सरकारबाट जनताले आशा गर्न व्यर्थ रहेको बताए। बर्तमान सरकारले लोकतन्त्र र संविधानको बलत्कार गरेको आरोपसमेत उनले लगाए।
संविधानसभालाई निरही बनाउन खोजेको जिकीर गर्दै अध्यक्ष दाहालले एमाले नेतृत्वको सरकार संविधानसभा विगठन गर्ने षडयन्त्रमा लागेको आरोप लगाए।
एमाले नेतृत्वको वर्तमान सरकारले नागरिक सर्वोच्चताको उपहास गरेर सैनिक सर्वोच्चतालाई प्राथमिकता दिँदै गएको आरोप दाहालले लगाए।
अहिलेको सरकार कठपुतली मात्र भएकोले नागरिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि जननिर्वाचित सरकारको जरुरी रहेको अध्यक्ष दाहालको दाबी थियो।
आइतबार मात्र प्रधानमन्त्री माधव नेपालले आफू विरुद्ध धेरै विष वमन नगर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए। तर, दाहाल विगतमा भन्दा सोमबार नेपाल नेतृत्वको सरकार प्रति धेरै आक्रोशित रुपमा प्रस्तुत भए।
प्रधानमन्त्री नेपालले दाहल बढी आक्रोशित भए माओवादीको पोल खोल्ने चेतावनी शनिबार दिएका थिए।