नेपाली नागरिकता प्रमाणपत्रको ढाँचा र कागज परिवर्तन हुने भएको छ ।
नयाँ ढाँचामा आमाको नाम थपिनेछ भने केही विवरण अंगे्रजीमा लेखिने छन् । नागरिकताकेा पछिल्लो पृष्ठमा जारी ऐन, बहाकको नाम, जन्म मिति, नागरिकता नम्बर र लिंग अंग्रेजीमा लेखिने भएको हो । कार्ड नेपाली कागजको बनाइन्छ ।
नागरिकतामा टाँसिने फोटोको मुन्तिर 'एनआईडी' -राष्ट्रिय पहिचान नम्बर) समेत राख्ने तयारी पनि गृह मन्त्रालयले गरिरहेको छ । एनआईडीको एउटै नम्बरबाट बाहकको सबै विवरण हेर्न मिल्ने गरी सूचना व्यवस्थापन गर्ने तयारी मन्त्रालयको छ । 'नागरिकताको अनुसूचीमा गरिएको हेरफेरलाई मन्त्रीस्तरीय निर्णयअनुसार अन्तिम टुंगो लगाइएको छ, चाँडै यससम्बन्धी सूचना निस्कछ,' उपसचिव प्रल्हाद पोख्रेलले कान्तिपुरलाई भने ।
ई-गर्भेनेन्स शाखा उपसचिव पोख्रेलका अनुसार नयाँ ढाचाको कार्डमा कम्प्युटर उपलब्ध हुने स्थानमा सपटवेयरको सहयोगले कम्प्युटरबाटै र नहुने स्थानमा हातबाट लेख्न सकिन्छ । नागरिकता तथा हातहतियार शाखाले तयार पारेको नागरिकताको ढाँचालाई ई-गर्भेनेन्स शाखाले परिमार्जन गरी कम्प्युटरमार्फत छाप्न सकिने गरी तयार गरेको छ ।
यसअघिका सरकारले महत्त्वपूर्ण सरकारी कागजात र नागरिकता स्वदेशमै उत्पादन हुने नेपाली कागजमा छाप्ने निर्णय गरेको हो । सोहीअनुसार नेपाली कागजमा छाप्ने प्रक्रियाका लागि मन्त्रालयको व्यवस्थापन महाशाखाका सहसचिव श्रीवत्स घिमिरेको संयोजकत्वमा मुद्रण विभाग र नेपाली कागज निर्माताबीच कुराकानी भइरहेको छ । सामान्य कागजमा छाप्दा प्रतिकार्ड करिब तीन रुपैयाँ पथ्र्याे भने नेपाली कागजमा छाप्दा सात लाग्नेछ ।