योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, पोर्तुगल, ४ अषाढ। युरोपियन मुलुकहरुभित्र सन् २००९ मा सात लाख ७६ हजार विदेशीहरुले बसाइँ अनुमति पाएका छन् । युरोपियन तथ्याङ्क शाखा युरोस्टाटले यो साता प्रकाशन गरेको तथ्याङ्कमा आप्रवासीहरुलाई यसरी बसाइँ अनुमति दिनेमा सबैभन्दा उच्च दर पोर्तुगलको रहेको छ । तथ्याङ्कमा पोर्तुगलपछि स्वीडेन र पोल्याण्ड तथा युकेले आप्रवासीहरु स्वीकारेको उल्लेख छ । पोर्तुगलले ५.८ प्रतिशत, स्वीडेनले ५.३ प्रतिशत र पोल्याण्ड तथा युकेले ४.८ प्रतिशत आप्रवासीहरुलाई बसाइँ अनुमति दिएका छन् । युनियनभित्रको चेक रिपब्लिकले सबैभन्दा कम ०.३ प्रतिशत मात्र विदेशीहरुलाई बसाइँ अनुमति दिएको छ । यसरी बसाइँ अनुमति पाउने विदेशीहरुमा २९ प्रतिशत अफ्रिकन, २४ प्रतिशत एशियन, २२ प्रतिशत युनियनबाहिरका युरोपियन देशहरुका, १५ प्रतिशत युरोप आसपासका र एक प्रतिशत अमेरिकन - ओशेनियन रहेका छन् । युरोस्टाटका अनुसार २००९ मा युरोपियन युनियनमा बसाइँ अनुमति पाउँनेहरुमा ५९ हजार नौ सय मोरक्को, ५१ हजार नौ सय टर्की, ३१ हजार एक सय भारत, २७ हजार आठ सय इक्वेडर र २६ हजार सात सय अल्बानियाबाट आएका विदेशीहरु हुन् । पोर्तुगलमा हालसम्म करिब दुई हजार दुई सय नेपालीहरुले बसाई अनुमति पाइसकेको अनुमान गरिन्छ ।