विगत दुई दिनदेखि लगातार परेको अविरल बर्षाको कारण चितवनको माडी क्षेत्र डुवानमा परेको छ। जिल्ला सदरमुकामसँग माडी क्षेत्रको सडक सम्पर्क विच्छेद भएको छ। माडी क्षेत्रको अधिकांश भूभाग जलमग्न भएको छ। रिऊ खोलामा आएको बाढीले दर्जनौं घर डुबाएको छ। स्थानीय बासिन्दा युवराज पौडेललले पाच जना भन्दा बढीलाई बाढीले बगाएको टेलिफोनबाट जानकारी दिएका छन्। तर, जिल्ला प्रहरी कार्यालय चितवनले भने गुहे खोलाको बाढीले बगाएर अयोध्यापुरी ६ का हरिप्रसाद उपाध्याय र बगै खोलाले बगाएर बघौडा १ का तुल्सी महतोको मात्र मृत्यु भएको पुष्टि गरेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले बाढीबाट प्रभावित माडी क्षेत्रका स्थानीय बासिन्दाको उद्धार भैरहेको जानकारी दिनुभयो। डुबानमा परेका स्थानीय वासिन्दालाई नजिकैका स्कूलमा सारिएको छ। सदरमुकामबाट उद्धारको लागि गएका टोलीहरु आज पनि डुबान क्षेत्रमा पुग्न सकेका छैनन्। विहान वाढीग्रस्त क्षेत्रको निरीक्षण गर्न नेपाली सेनाको हेलिकोप्टर मार्फत त्यसतर्फ गएको हवाई निरीक्षण टोलीपनि प्रतिकूल मौसमका कारण बीचबाटोबाटै फर्केको छ।
आजै विहान जिल्ला विकास समितिमा बसेको सर्वपक्षीय वैठकले वाढीमा फसेकाको उद्धार र राहतका लागि गृहमन्त्रालयमा अनुरोध गरी जुनसुकै संयन्त्र र तौरतरिका अपनाउने निर्णय गरेको छ।।
जिल्ला बाढी
पहिरोका कारण घर भत्किँदा स्याङ्जाको विर्घामा एक जनाको मृत्यु भएको छ। बिर्घा गाविस वडा नम्बर तीनका ४० वर्षीया ताराबहादुर माझीको मृत्यु भएको हो। लगातारको वर्षापछि गएको पहिरोले माझीको घर बगाएको बताइएको छ।।
यता, नवलपरासीमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्। रोकुवा गाँउ बिकास समिति ६का ४५ बर्षीय होमनाथ पाण्डेलाई स्थानीय बौठी खोलाले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ। खोला तरेर आफनो खेतमा जाने क्रममा पाण्डेलाई खोलाले बगाएको हो। यता, लगातारको बर्षाका कारण नरायणी नदीमा आएको बाढीले बबुअन गाँउका १ सय ३५ घर परिवार बिस्थापित भएका छन।
गाँउलेहरु नजिकैको जँगलमा पाल टाँगेर बसेका छन । उनीहरुको घरमा रहेको अन्नपात समेत बाढीले बगाएको छ।नवलपरासीकै सुस्ताका १० घर परिवार पनि बाढीबाट बिस्थापित भएका छन। सुस्ता गाँउमा दुई फिट पानी जमेको छ।।
महाकाली निरीक्षण
सरकारका मुख्य सचिब माधवप्रसाद घिमिरे महाकाली नदीको कटानका बारेमा जानकारी लिन कटानस्थल भुजेला पुग्नु भएको छ। महाकालीनदीमा बनाइएको तटबन्धका बारेमा आलोचना भएपछि मुख्य सचिव घिमिरे नेतृत्वको उच्चस्तरीय सरकारी प्रतिनिधि मण्डल महाकाली नदीले कटान गरेको भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेको हो। भुजेलाक्षेत्रमा एक महिना अघि जनताको तटबन्ध कार्यक्रमअर्न्तगत ३ करोड ५५ लाखमा निर्माण गरिएको तटबन्ध नदीले बगाएर महाकाली नदी भुजेला गाउँ पसेको खबर आएपछि मुख्य सचिब सहितको टोली निरिक्षणका लागि मंगलबार साझँ महेन्द्रनगर पुगेको थियो।
टोलीले भुजेला क्षेत्रमा भएको कटान र विस्थापितको बारेमा जानकारी लिँदै छ। भुजेलाको निरीक्षणपछि टोलीले भीमदत्त नगरपालिका–१३ मा भएको डुबानका बारेमा पनि जानकारी लिने छ। उक्त टोलीमा मुख्य सचिब घिमिरेसँगै प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेल, सामान्य प्रशासन मन्त्रालयका सचिव बालानन्द पौडेल, सिचाई मन्त्रालयका सचिब उमाकान्त झा, अर्थ मन्त्रालयका सचिव बोधराज निरौला र जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक शंकर कोइराला रहेका छन्। यसैबीच, मुख्य सचिव घिमिरेले तटबन्धका बारेमा छानविन गरिने बताउनुभएको छ। उहाँले तत्काल नदीकटान नियन्त्रण गर्न पाँच सय सुरक्षाकर्मी परिचालित गरिने पनि जानकारी दिनुभएको छ।।